काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गते हुने निर्वाचनमा जनताले सही गलत भएर फैसला गर्ने बताउँदै जनताले दिएकाे फैसला स्वीकार्य हुने बताउनुभएकाे छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको भनाइप्रति लक्षित गर्दै मंसिर ४ ले सबैको फैसला गर्ने र त्याे स्वीकार्य हुने बताउनुभएकाे हाे ।
पाँच वर्षे कार्यकालकाे अन्तिम बैठकमा बोल्दै विपक्षी दलका नेता ओलीले मंसिर ४ मा थाहा हुन्छ, हेरौँला भनेपछि जवाफमा अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे ।
‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौँला भनेर । म विनम्रतापूर्वक उहाँलाई सम्झाउन चाहन्छु, राष्ट्रियसभा सदस्यको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्मले सन्देश दिइसकेको जस्तो लाग्छ। तर मलाई लागेको थियो प्रतिपक्षी दलको नेताले त यहाँसम्म आउँदा विघटन दुईदुई पटक बेकारमा गरिएछ । मैले स्थायित्व र विकासलाई अवरोध गरेछु । स्थायित्वलाई अस्थिरतामा लागेछु भन्नुहोला र राम्रो वातावरण बन्ला सोचेको त फेरि उही अहंकार ? ठिकै छ मंसिर ४ गते हेर्ने, तपाइँले पनि हेर्नुहुन्छ, हामीले पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो।’
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानले तत्कालीन प्रधानमन्त्री ओलीसँग साँठगाँठ रहेको कुरा खुल्न आएको दाहालको भनाइ थियो ।
देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन, संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यका साथ असंवैधानिक कदमलाई सुधार गरेर वर्तमान गठबन्धन सरकार बनेको अध्यक्ष दाहालले बताउनुभयाे ।