दोलखा । सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताउनुभएको छ ।
थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले पछिल्लो समय राजनीतिक दलहरु असफल हुँदा तिनका विचार, तिनका दृष्टिकोण पनि कमजोर भएको बताउनुभयो । त्यसैले अब पुराना दलहरुले जनताको समस्या हल गर्न नसक्ने भएकोले जनताले नयाँ विकल्प खोज्न थालेको उहाँको भनाइ थियो । उहाँले फराकिलो सोंच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको बताउनुभयो ।
सीमान्तकृत जनजातीहरुलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी मन्त्री चौधरीले दलहरुलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताउनुभयो । उहाँले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा समेत राख्नुभयो ।
मन्त्री चौधरीले अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न नसक्ने जिकिर गर्दै नेता बन्न समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अड्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्री पार्वत गुरुङसहित जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न व्यक्तिहरुले आआफ्ना धारणा राखेका थिए ।