तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पार्नुभएको छ ।
“प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उहाँले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्छ भन्नुभयो। व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ थियो ।
हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उहाँले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राख्नुभयो। गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा तनहुँ क्षेत्र नं १ प्रदेश (क)का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीब्रता दिनुभएको छ।
यसक्रममा उहाँले व्यास,भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गर्नुभएको थियो ।