काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं ५ मा उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गर्नु भएको छ । पौेडेलले शनिबार ‘रूपान्तरणको आधार सुशासन र सदाचार, अहँ ! भ्रष्टाचार’ नारा सार्वजनिक गर्नु भएको हो ।
पौडेलले आफ्नो निर्वाचन अभियानमा भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकता रहेकाे बताउनु भयो । नाराको अन्त्यमा ‘डिस्लाइक’ चिह्न प्रयोग गरिएको छ । भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियाँमा इमोजीको प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिसलाइक इमोजी प्रयोग गरिएको र डिसलाइक चिह्नको अर्थ भ्रष्टाचारलाई डिसलाइक भन्ने रहेको पौडेलले बताउनु भयो ।
पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरूको सम्पत्ति अख्तियारले छानबिन गर्न पाउनुपर्नेसमेत बताउँदै आउनु भएको छ ।
‘सुझबुझसहितको निष्ठा, इमानदारिता र जवाफदेहिताको राजनीतिले मात्रै सुशासनको ग्यारेन्टी गर्न सक्छ र देश र नागरिकका तमाम समस्यालाई पार लगाउन सक्छ,’ पौडेलले भन्नु भयो, ‘मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक संस्कारको सकारात्मक रूपान्तरणका लागि सुशासन र सदाचार आधारभूत सर्त हो ।’
पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘बिसिडी’ मोडल अघि सार्नु भएको छ । ‘बी’ अर्थात् ब्रेनड्रेनको समस्या समाधान, ‘सी’ अर्थात् करप्सन (भ्रष्टाचार) अन्त्य गर्न नेतृत्व गर्ने र अन्तिम मोडल अर्थात् ‘डी’ डेभलपमेन्ट (विकास) र यसको व्यवस्थापन गरी व्यवस्थित ढंगबाट कम खर्चमा धेरै उपलब्धि हासिल गर्ने योजना रहेको उहाँले बताउनु भयो ।