सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब हसिँया हथौडादेखि नडराउन नेता–कर्याकर्तालाई आग्रह गर्नु भएको छ ।
सत्ता गठबन्धन दलले आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको चुनाव लक्षित संयुक्त भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताउँदै पौडेलले यो वा त्यो दलका उम्मेदवार नभनेर आफ्नै उम्मेदवार भनेर भोट हाल्न आग्रह गर्नुभएको हो ।
वरिष्ठ नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताउनु भयो।
‘हाम्रो यो अभियान गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधान जोगाउने नै हो । त्यसैले यो वा त्यो दलका उम्मेदवार नभनेर आफ्नै उम्मेदवार भनेर भोट हाल्नु होला,’ पौडेलले भन्नुभयो ।
लोकतन्त्रको रक्षाका लागि आफूहरु गिरिजाप्रसाद कोरइलालेदेखिको अभियान लिएर अगाडि बढेको बताउँदै पौडेलले कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिह्न हसिँया हथौडासँग नतर्सिनसमेत आग्रह गर्नुभयो ।
‘माओवादीको चुनाव चिह्नबाट कोही पनि नडराउनु होला। गिरिजाप्रसाद कोरइलालेदेखिको अभियान लिएर अगाडि बढेका छौं, उहाँले भन्नुभयो,‘यतिबेला लोकतन्त्रको रक्षा अभियान छौं। हामीले लोकतान्त्रिक उन्नतितर्फ अगाडि बढाउने बाटो खोजेका छौं ।’