बागलुङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाउनु भएको छ । सोमबार बागलुङमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले एमाले आफूहरुले लडेर ल्याएको व्यवस्थाको विरुद्द भएको आरोप लगाउनु भएको हो ।
‘हामीले लडेर ल्याएको व्यवस्थाविरुद्दमा नेकपा एमाले छ,’ उहाँले भन्नुभयो, ‘७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्काउन एमाले उद्धत छ ।’
उहाँले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताउनु भएको छ । ‘यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो’, उहाँले भन्नुभयो, ‘यो प्रणालीमा भएका कमिकमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।’
त्यसैगरी, सरकार ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिका स्तरीय अस्पताल बनाउने चरणमा रहेको दाबी गर्दै आगामी दिनमा १२ कक्षासम्मको शिक्षा निःशुल्क हुने पनि उहाँले बताउनु भयो ।
संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजासहित शिक्षक अस्पताल बन्ने प्रक्रियामा रहेको उहाँले बताउनु भएको छ । बागलुङका जनताको मतले आफू मन्त्रीभएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धतासमेत मन्त्री पौडेलले व्यक्त गर्नु भयो ।
‘म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,’ उहाँले भन्नुभयो, ‘जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नु छैन जनताकै पक्षमा काम गर्छु ।’
बागलुङ क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका उम्मेदवारले जीत हासिल गरिसकेको र औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको उहाँले दाबी गर्नुभयो ।