भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चुच्चे नक्सा गठबन्धन सरकार आएपछि बुच्चे भएको टिप्पणी गर्नु भएको छ ।
भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भारतले गरेको नाकाबन्दीलाई गठबन्धनका नेताहरु बोल्न नसकेको बेलामा ओलीले डटेर सामाना गरेको स्मरण गर्दै चुच्चे नक्सा बुच्चे भएको टिप्पणी गर्नु भएको हो ।
‘हामीले ल्याएको चुच्चे नक्सा गठबन्धन सरकार आएपछि बुच्चे भएको छ,’ भक्तपुर २ का उम्मेदवारसमेत रहनु भएका बस्नेतले भन्नुभयो । त्यसैगरी नेता बस्नेतले आफ्ना कार्यकर्तालाई चुनावी युद्धमा होमिन र घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिनुभएको छ ।
‘चुनावलाई युद्धका रुपमा लिएर मैदानमा होमिन हामी तयार भइसकेको छौँ। घरघरमा पुगेर जनताको समस्या आलोचना सबै सुन्नुपर्छ,’ नेता बस्नेतले भन्नुभयो ।
त्यसैगरी, विगतका पाँच वर्षको आफ्नो कार्यकाल सफल भएको उहाँले दाबी गर्नुभयो । देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको बस्नेतको दाबी रहेको छ ।
‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधैं जोडिन टेलिफोेन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्,’ नेता बस्नेतले भन्नुभयाे, ‘ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’