काठमाडौं । नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र सार्वजनिक गर्नु भएको हो । नेमकिपाको चुनावी घोषणपत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन्।
त्यसैगरी, माध्यमिक शिक्षा अनिवार्यरुपमा निशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरु नेमकिपाले आफ्नो घोषणापत्रमा समेटेको छ।
ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहम भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ। समाजवादको विकल्प नभएको ठहर्याउँदै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गरेको छ।
भारतसँग भएको असमान सन्धीहरु खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। कार्यक्रममा बोल्दै नेमकिपा सचिव प्रेम सुवालले निर्वाचन क्रान्तिको संकेत दिने प्यारामीटर रहेको बताउनु भयो । ‘सत्ता गठबन्धन देश र जनताको विरोधमा छ । यो गठबन्धन जनताको पक्षमा छैन,’ उहाँले भन्नु भयो ।
त्यसैगरी, नेपालीको सम्पत्तिलाई विदेशमा नलैजाने नियम कानुन बनाउन आवश्यक रहेकोसमेत सुवालले बताउनु भयो।