काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले देशको समग्र परिवर्तनका लागि युवा पुस्तालाई नेतृत्वमा ल्याउनु पर्ने बताउनु भएको छ ।
मंगलबार राप्रपाले काठमाडौंमा आयोजना गरेको दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले पटक–पटक सांसद, मन्त्री भइसकेका बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता नेतृत्वमा आउन अपरिहार्य भएको बताउनु भएको हो ।
‘अहिले विद्यालयहरू बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्’, उहाँले भन्रुभयाे, ‘बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरूको बानी भइसक्यो।’
उहाँले देशका उद्योग, धन्दा कलकारखाना बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाउनु भयाे ।
‘यहाँ उद्योगकै कुरा गर्दा पनि सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिने हो भने ती युवाहरूले स्वदेशमै रोजगारी पाउँछन्,’ उहाँले भन्नुभयो ।
सरकारले युवालाई देशमै केही गर्न खोज्दा उचित वातारण नबनाएर विदेशिन बाध्य बनाएको पनि पोखरेलले आरोप लगाउनु भयो । उहाँले आफ्नो उम्मेदवारी भ्रष्ट राजनीतिलाई शुद्धीकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न भएको बताउनु भयो ।