पाँचथर । फालेलुङ गाँउपालिकाको चाररातेमा दोस्रो चौंरी महोत्सव भएको छ । महोत्सवमा सयौँ चाैंरी तथा घिउ, छुर्पीलगायत चौंरीजन्य सामग्रीहरुको प्रदर्शन गरिएको छ ।
महोत्सवको प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको थियो । नयाँ वर्षको अवसरमा बैशाख १ गते महोत्सवको उद्घाटन गरिएको थियो । फालेलुङ–४ चाररातेमा आयोजित महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रवाट दुईसय बढीचौंरी प्रदर्शनीकालागि ल्याइएको थियो ।
युवापलायन हुन थालेको र पुस्तौँदेखि गर्दै आएको चौंरीपालन पेसा युवा पुस्ताले सम्हाल्न नसक्दा चौरी लोप हुनलागका कारण महोत्सवको आयोजना गरिएको थियो । चरिचरन क्षेत्र अभावमा नेपालका उच्च पहाडी र हिमाली क्षेत्रबाट चौंरी र चौंरी गोठ लोप हुनलागेको कारण चौंरीको संरक्षण गर्ने, चौंरी रहन सक्ने वातावरण निर्माण गर्ने सन्देश दिन तथा चौंरीजन्य उत्पादनको बजार खोज्न महोत्सवको आयोजना गरिएको हो ।
चाैंरी लोपहुने अवस्थामाः
चौंरी नेपाल, चीनको तिब्बतको पठारदेखि उत्तर मामंगोलिया तथा रुसका हिमाली प्रदेशमा पाइने गर्छ । चौंरी गाई धेरै संख्यामा घरपालुवा जनावरको रूपमा पाइएता पनि कम र असुरक्षित संख्यामा जंगली जानवरको रूपमा पनि पाइने गर्छ । यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा दुध उत्पादन, सामान ढुवानी तथा मासुका लागि पाल्ने गरेको पाइन्छ ।
नेपालको पूर्व पश्चिम डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ्ग, मनाङ्ग, लम्जुङ्ग, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थानहरू चौरीको पकेट क्षेत्र हुन् । नेपालामा चौंरीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको हुँदा यसको संरक्षण गर्न थालिएको छ ।
विगतमा भन्दा ६० देखि ७० प्रतिशतले चौंरीपालन व्यवसाय घटेको चौंरीपालक किसानहरु बताउछन् । युवाहरु विदेश पलायन हुने र आफ्ना बाबु बाजेले अंगालेको पेशा युवा पुस्ताले अंगाल्न नसक्दा चौरी पालन व्यवसाय घटेको चौरीपालक किसानहरुको भनाइ छ । अहिले उच्च हिमाली तथा पहाडी क्षेत्रमा चौंरी गोठ भेट्न मुस्किल पर्न थालेको छ ।
चौरी कस्तो ठाँउमा पाइन्छ ?
समुद्री सतहबाट २००० मिटर देखि ५००० मिटर सम्मको उचाईको हिमाली तथा पहाडी क्षेत्रमा चौंरीपालन हुन्छ । दुई प्रजातिको चौंरीको पालन बढी हुने गर्छ ।
पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा वा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ । यो याक वा नाक भन्दा फरक प्रकृतिको जनावर हो । तर याक वा नाकलाई पनि चौंरी भन्दा उच्च प्रजाति मै समावेश गरिन्छ ।
पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित याकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ । याक र पहाडी गाई (किर्खोम्) बाट जन्मने चौंरीलाई ‘उराङ’वा ‘झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ‘झोप्क्यो’ भनिन्छ ।
चौरी लोप भए देशलाई आर्थिक रुपमा घाटा
यसरी देशव्यापी रुपमा चांैरीपालन व्यवसाय लोप हुँदा आर्थिक रुपमा देशलाई नै घाटा लाग्ने सरोकारवाला वताँउछन् । चौरीको दुधबाट उत्पादन हुने दुग्ध पदर्थ तथा अन्य कच्चा पदर्थहरु उत्पादन हुन सक्दैन् । त्यस्तै पर्यटन व्यावसायमा पनि ह्रास आउने हुन्छ । पहिला दोलखा, ताप्लेजुङलगायतको स्थानमा चौरी महोत्सब हुने गरेको थियो र गत वर्षबाट पाँचथरमा पनि चौंरी महोत्सव हुँदै आएको छ ।
तर बर्षेनी रुपमा चांैरीको संख्या घट्दै जाँदा महोत्सवले महत्व पाउन नसकेको चौंरीपालकहको भनाई छ । हिमाली र उच्च पहाडी क्षेत्रको पहिचानसँग जोडिएको चौरीको दुधबाट बनेको छुर्पी, दुर्खा, याक चिज, घ्युउ, पनिर तथा दुग्धजन्य पदार्थको उत्पादन समेत घटेकोे छ ।
विशेषतः ताप्लेजुङ्ग जिल्लाका पाँचवटा गाउँपालिकामा र पाँचथरका केही भेगमा रहेका चौरी गोठबाट उत्पादन गरिने छुर्पी, दुर्खा, घ्यु, पनिर जस्ता दुग्धजन्य पदार्थको पछिल्लो समय उत्पादनमा गिरावट आएकाले सदरमुकाममा समेत पाउन मुस्किल भएको छ । पहिलेको तुलनामा चौंरीपालन व्यवसाय पनि कम भएकाले चौरीको दुधबाट बन्ने कच्चापदार्थको अभाव हुन सक्ने व्यवसायीहरु बताउँछन् ।
नेपालमा उत्पादन हुने चौंरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्युउ, मखन, पनिर अदि स्वादिष्ठ र स्वास्थ्यको लागि राम्रो हुने हुँदा कोशेलीका रुपमा विभिन्न देश तथा विदेशमा लाने गरेको पाइन्छ । नेपालमा उत्पादन भएको प्रायजसोः चौरीको घ्यु र छुर्पी भारत तर्फ निकासी हुने चौरीपालक कृषकहरुको भनाइ छ ।