बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानका उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेको बताउनुभएको छ ।
गलकोट नगरपालिका–१ नरेठाँटीमाआयोजित चुनावी कार्यक्रममा उहाँले मुद्दा र देशको आवश्यकताका आधारमा पाँच दल एक ठाउँ उभिएको बताउनुभयो ।
“समावेशी चरित्रको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले लडेर ल्याएको हो, यसलाई बचाउनु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “राजनीतिकरूपमा हामी सही बाटोमा छौँ, यही व्यवस्थाको रक्षा र विकास गर्दै अघि बढ्नुछ ।” मन्त्री पौडेलले चुनावपछि अहिलेकै गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिने र संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादोन्मुख राज्य व्यवस्थाको आधार खडा गर्ने बताउनुभयो ।
“गाँस, आवास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा संविधानमा व्यवस्था गरेका छौँ, त्यसको सुनिश्चितता गर्दै देशलाई समाजवादको बाटोमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि तीव्र आर्थिक विकास र अर्थ प्रणालीमा सुधार चाहिएको छ ।” बागलुङ–२ को उम्मेदवार रहनुभएका मन्त्री पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्ता गठबन्धनले जित्ने दाबी गर्नुभयो ।
“चुनावपछि बन्ने गठबन्धन सरकारले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उहाँले भन्नुभयो ।