बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।
उहाँले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री बन्ने बताउनुभयो ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टीभन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
प्रवक्ता डा महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुःख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मुल्यांकन गर्न जिकीर गर्नुभयो ।
पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको दावी गर्नुभयो ।
एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको उहाँको दाबी थियो ।
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ । एमालेले जारी गरेको घोषणा पत्रमा पनि रेल सञ्चालन गर्ने र कांग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा महतले ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा काँग्रेस नरहेको बताउनुभयो ।