काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो ।
शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्नुहुँदै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताउनुभयो ।
उहाँले आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल आठ करोड २५ लाख मतपत्र छपाइ भएको जानकारी दिनुभयो । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताउनुभयो । उहाँले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि समयभन्दा अगावै सबैको सहयोगमा छपाइ कार्य सम्पन्न भएको बताउनुभयो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन् ।
यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ ।