काठमाडाैं । ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो ।
ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ।
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ को मतगणना भर्खरै सुरु भएको छ । ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना थालिएको छ ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उहाँले जानकारी दिनुभयो ।
“बिहान ४ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “केही बेरमा पहिलो मत परिणामको ‘अपडेट’ दिने तयारीमा छौँ ।” आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा ५० हजार ३४ मत खसेको थियो ।
सो क्षेत्रको प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । फाइल तस्वीर