काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी परिणामबारे आफ्नो पार्टीले गम्भीर विश्लेषण गर्ने बताउनुभएको छ ।
विहीवार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले चुनावमा सत्ताको दुरूपयोग गरिएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताउनुभयो । ।
‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए। आतंक फिजाउने प्रवृत्ति देखिए। हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो,’ उहाँले भन्नुभयो, ‘सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ।’
रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको चुनावी परिणाम स्वभाविक भएको बताउनुभयो । यसलाई अनावश्यक प्रोप्रोगान्डा गरिरहन नपर्ने उहाँको भनाइ थियो ।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै कार्यक्रम, नीति, र भिजन नै नभएको तर्क गर्नुभयो । हा हु मा देश लैजाने कुरा नेपालको हितमा नहुने उहाँको भनाइ थियो ।
झापा ५ बाट निर्वाचित हुनुभएका ओली विजयी सभालगायतमा सहभागी हुन झापा पुग्नुभएको हो ।