काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ ।
हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन् । जसमा शक्तिशाली गृहमन्त्री पनि पर्छन् । निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ हुनुहुन्छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् ।
रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक बोहरा निर्वाचित हुनुभएको छ । बोहराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार चार मतमा सीमित भए । सत्तागठबन्धनका उम्मेदवार खाणलाई एमालेको सहयोगमा राप्रपाका दीपक बोहराले हराउनुभयो ।
माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसाललाई ललितपुर ३ बाट डा तोसिमा कार्कीले पराजित गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसाल आठ हजार ७६९ मतका साथ तेस्रो स्थानमा सीमित रहनुभयो ।
एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गर्नुभएको हो । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले चार हजार १७७ मत मात्रै ल्याएर तेस्रो स्थानमा खुम्चिनुभएको छ ।
माओवादी नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराज पनि पराजित हुनुभएको छ । बाँके १ मा उम्मेदवार बनेका गहतराजलाई एमालेका सूर्य ढकालले पाँच हजार ३९४ मतान्तरले पराजित गर्नुभएको हो । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याउनुभयो ।
कांग्रेस सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट पराजित हुन्ुभएको छ । उहाँलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गर्नुभएको हो । मैनालीले ३९ हजार १९५ र चौधरीले ३० हजार ५६ मत ल्याउनुभयो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गर्नुभएको हो । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याउनुभएको छ।