काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच पाँचदलीय गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको छ ।
सोमवार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच नयाँ सरकार गठनबारे छलफल भएको हो ।
प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँचदलीय गठबन्धनलाई अझै थप बलियो बनाई गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल गर्नुभएको हो ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । गठबन्धन दायाँबायाँ नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताउनुभयो ।
निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाट भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो ।
निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आज दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ ।