काठमाडौं । प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ ।
राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् ।
आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुग्नुभएको छ । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित देउवा बहालवाला प्रधानमन्त्री हुनुहुन्छ । उहाँ फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा रहनुभएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७८ वर्षका हुनुभएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जित्नुभएका पौडेल पनि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्न लबिङमा हुनुहुन्छ । यस्तै बहालवाला परराष्ट्र मन्त्री समेत रहनुभएका डा नारायण खड्का पनि ७३ वर्ष पुग्नुभएको छ । नेपाली कांग्रेसबाट उदयपुर १ बाट निर्वाचित खड्का पनि संसदमा ७० वर्ष कटेका सांसद हुनुहुन्छ ।
मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कांग्रेस नेता डा शेखर कोइराला पनि ७२ वर्ष पुग्नुभएको छ । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनुभएका डा कोइराला कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । यस्तै नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुग्नुभएको छ ।
यस्तै प्रतिनिधिसभातर्फ ४४ सिटसहित दोस्रो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पुग्नुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित अध्यक्ष ओली यसअघि दुईपटक प्रधानमन्त्रीसमेत भइसक्नुभएको छ । एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित मङ्गलप्रसाद गुप्ता पनि ७७ वर्ष पुनुभएको छ ।
नेकपा माओवादी केन्द्रले १८ सिट जित्दा एक सिटमा ८० वर्षीय महिन्द्र राय यादव निर्वाचित हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादव पूर्वमन्त्री समेत हुनुहुन्छ । जनता समाजवादी पार्टीबाट ७३ वर्षीय नवलकिशोर साह सुडीले पनि चुनाव जित्नुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट ८० वर्षीय महन्थ ठाकुर निर्वाचित हुनुभएको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ठाकुर लोसपाका अध्यक्ष समेत हुनुहुन्छ । यस्तै लोसपाबाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचित हुनुभएको छ ।
राप्रपाबाट ७१ वर्षीय दीपक बोहराले पनि चुनाव जित्नुभएको छ । उहाँले रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभएको हो । राप्रपाकै अर्का सांसद ७३ वर्षीय ध्रुवबहादुर प्रधान पनि नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ ।
यस्तै एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी पनि ८० वर्ष पुग्नुभएको छ । उहाँ बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।