हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।
आउँदो बुधबार दलको नेता चयनका लागि निर्वाचन तोकिएका बेला दुवै समूहबाट उम्मेदवारी पर्ने देखिएको हो ।
हालसम्म संस्थापन समूहबाट संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । संस्थापनइतर समूहबाट उम्मेदवारको नाम टुंग्याउन बाँकी रहेको एक नेताले जानकारी दिनुभयो ।
संस्थापन समूहले चर्चामा आएका दुईमध्ये एकजनाको नाम फाइनल गरे पनि इतर समूहले पनि अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।
६६ प्रत्यक्ष र ४४ जना समानुपातिकबाट निर्वाचित हुने बागमती प्रदेशमा कांग्रेसको ३७ सिट छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको हो ।
निर्वाचन तालिका सार्वजनिक
१३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरिने उल्लेख छ ।
१३ पुस बिहान ८ बजे उम्मेदवारी दर्ता, बिहान साढे १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, बिहान ११ बजे उम्मेदवारहरूको दाबी विरोध, दिउँसो १२ बजे उम्मेदवारहरूको दोस्रो पटक नामावली प्रकाशन प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
समितिले दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिने समय, दिउँसो पौने २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।
सोही दिन मत परिणाम सार्वजनिक हुने समेत बताइएको छ । उक्त निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।