काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पराजीत दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानूनबमोजिम कारवाही र जरिवाना हुने बताउनुभयो।
आयोगले तोकिएको निर्वाचन खर्चको अधिकतम् हदलाई निश्चित ढाँचामा विवरण पेश गर्न गत मङ्सिर १२ गते निर्देशन दिएको थियो। आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलका आधारमा प्रतिनिधि सभाको प्रत्यक्षका लागि रु २५ लाख देखि ३३ लाखसम्म र प्रदेश सभाको प्रत्यक्षतर्फ १५ लाख देखि २३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्वाधरण गरेको छ। यस्तै समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाख र प्रदेश सभातर्फ एक लाख पचास हजार निर्धारण गरिएको छ।
निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेश गरेका उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४)ं बमोजिमको ढाँचामा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतपरिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम कतिपय उम्मेदवार र दलले बुझाउन थालेका छन्। प्रदेश र जिल्ला तहमा बुझाइएको विवरण सङ्कलन भइसकेको भइरहेको आयोगले जनाएको छ।
प्रवक्ता पौडेलले निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले खर्चको विवरण नबुझाएमा तोकिएको निर्वाचन खर्चको हद वा आयोगले तोक्ने जरिवानामध्ये जुन बढी हुन्छ त्यो रकम बराबरको जरिवाना तथा समानुपातिकतर्फ बन्दसूची पेश गर्ने राजनीतिक दलले खर्च विवरण नबुझाएमा उक्त दलको प्रतिसमानुपातिक उम्मेदवारका लागि प्रतिउम्मेदवारको प्रतिउम्मेदवार रु दुई लाखका दरले हुने रकमसम्म जरिवाना हुन सक्ने बताउनुभयो।
समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मिति २०७९ मङ्सिर २८ गतेको ३५ दिनभित्र प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेश सभा सदस्यको लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ। विवरण पेश गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैङ्क खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्न आयोगले भनेको छ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तोकिएको समयमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई जनही रु सात लाखसम्म जरिवाना तोकेको थियो। उक्त निर्वाचनमा जरिवाना तोकिएर समयमा नबुझाउनेलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार हुन अयोग्य तुल्याइएको थियो।