–अर्जुन बिष्ट
रुकुम पस्चिम । आफ्नै भुमिमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि अधिकांश नेपालीलाई रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ। वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन्। त्यस्तै बाध्यताले घेरेपछी रुकुम पस्चिमका दुई बालक कलिलै उमेरमा विदेशीनु परेको छ । अहिले सामाजिक सञ्जालमा भाईरल बनेको एउटा तस्वीर बहसको विषय समेत बनेको छ ।
सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उक्त तस्वीर प्रति आआफ्नै धारणा व्यक्त गरिरहेका छन । सामाजिक सञ्जालमा देशको अर्थतन्त्र र स्वदेशमै रोजगारको ग्यारेन्टी लगायतका प्रश्न उठिरहेका छन् । तस्वीरमा झट्ट हेर्दा १५-१६ वर्षका देखिने ती बालकहरु को हुन् ? यथार्थ के हो त ?
किशोरहरु रुकुम पश्चिमको चौरजहारी नगरपालिका - १३ का स्थानीय रहेको पाईएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्नु अघि खिचिएको तस्वीर बायाँतर्फ टेकराज बिक र दाँयातर्फ शिवलाल ओलीको हो । तस्वीरमा हेर्दा बालक जस्तै देखिए पनि दुबैजना किशोर अवस्थाका हुन् ।
वैदेशिक रोजगार आजको समयमा हामी नेपालीको बाध्यताको उपज भएको छ । यी तस्वीर त केवल प्रतिनिधि पात्र मात्रै हुन । मुलुकमा उमेर ढाँटेर नागरिकता, पासपोर्ट बनाएर कलिलै उमेरम विदेश जानुपर्ने बाध्यता छ । यी दृश्यलाई हेर्दा देशको आर्थिक र सामाजिक विकासको प्रमुख कारकतत्व अझै केही वर्ष वैदेशिक रोजगारी हुने देखिन्छ ।
चौरजहारी नगरपालिका १३ का स्थानीय मोतिराम बिकका अनुसार टेकराजको उमेर २१ वर्ष र शिवलालको उम्मेर २४ वर्ष रहेको छ । उहाँका अनुसार टेकराजले ८ कक्षा पास र ओलीले दश कक्षा सकेर पढ्दापढ्दै विदेश गएको बताउनुभयो । दुबै जना एउटै गाउँका हुन्।
त्यस्तै, शिवलालका बुवा यामबहादुर ओलीका अनुसार उहाँका छोराले एसइईसम्मको पढाई सकेर विदेश गएको बताउनुभयो। उहाँले भन्नुभयो, 'मेरो दुई भाइ छोरामध्ये शिवलाल घरको जेठो छोरा हो । घर चलाउन र परिवारको ऋण तिर्न छोरालाई विदेश पठाउन बाध्य भएँ ! ओलीले भन्नुभयो, गाउँघरमै रोजगारी सिर्जना नहुँदा छोर कामको खोजीमा भारत जाने आउने गर्थे। भारतको कमाईले घर धान्न समेत मुश्किल भयो ।
‘स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, त्यसैले घरखर्च चलाउन र ऋण तिर्न विदेश पठाउन बाध्य भएको शिवलालका बुबा यामबहादुर ओलीले बताउनुभयो ।
उनीहरु दुबैजना वैदेशिक रोजगारका लागि बुधवार मलेसिया उडेका छन् । विदेशमा रहँदा राम्रो आर्थिक प्रगति हुन्छ कि भन्ने आशमा टेकराज र शिवलाल गाउँमा साढे दुई / दुई लाख बढी ऋण लिएर म्यानपावर कम्पनी मार्फत् मलेसिया उडेको ओली बताउनुहुन्छ । यहीँ गाउँबाट कलिलै उमेर घरखेत बेचेर अन्य पनि विदेश गएका छन् । कतिपयले आफू उच्च शिक्षाबाट वञ्चित भएका कारणले पनि छाेराछोरी पढाउनका लागि खाडी मुलुकको चर्को घाममा पसिना बगाउन बाध्य छन् । दुबैजना घरको आर्थिक चापका कारण कलिलै उमेरमा विदेश जान बाध्य भएका छन् । भारत गएर जेनतेन खर्च चलिरहे पनि परिवारमा ऋण बढ्दै गएपछि छोरालाई विदेश पठाउन बाध्य भएको परिवारको भनाइ छ ।
मलेसिया रोजगारीमा जान ऋणको भार वैदेशिक रोजगारीको लागि वित्तीय संस्थाहरूले ऋण दिँदैनन्। त्यसैले अधिकांशले गाउँघरमै चर्को व्याजदरमा साहु र आफन्तबाट ऋण लिएर विदेश जाने गरेका छन् । यता सराकारले मलेसिया दश हजारमा पठाउने भने पनि मेनपावर कम्पनीले लाखौँ पैसा असुल्छन् । बैँक तथा वित्तीय संस्थाहरुले विदेश जानका लागि ऋण दिँदैनन्। शिवलालका बुवा यामलाल भन्नुहुन्छ, चर्को ब्याजमा भए पनि ऋण लिएर मलेसिया पठाउन पर्यो । पासपोर्ट बनाउँदादेखि उडानसम्म चार लाख बढी खर्च भएको ओलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, अहिले त गाउँमै रोजगारी नपाउने अवस्था रहेको छ । चुनावमा ‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ’, नयाँ जनप्रतिनिधिले कामका लागि भारत, विदेश जाने बाध्यता हटाउनुपर्छ, हामी र हाम्रा छोराले परदेशमै जीवन कटायौँ, छोरा अब हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् ।’
रुकुम पश्चिमबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि यहाँको अवस्थामा भने परिवर्तन आउन नसकेको यहाँका स्थानीयको गुनासो छ । जनयुद्धको उद्गम स्थल मानिने रुकुममा छाक टार्नकै लागि पढ्ने लेख्ने उमेरमा ऋणको भारी बोकेर विदेशीनु दुःखद भएको रुकुमेली जनताको गुनासो छ । हिजो दशवर्षे सशस्त्र द्वन्द्वका कारण थिलथिलो परेको रुकुम अझै परिवर्तन नभएकोमा गुनासो बढ्दो छ ।
यहाँबाट निर्वाचित प्रतिनिधिले देशको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दा रुकुमको मुहार फेरिनुपर्ने हो तर त्यसो हुन सकेको छैन । यहाँका जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै कामको खोजीमा रुकुम लगायत कर्णालीका अधिकांश ठाउँका नेपाली नागरिक भारत र खाडीको विभिन्न ठाउँमा जाने गरेका छन् ।