काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रको जनविश्वास र लोकप्रियता खस्कदै गएको प्रति सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शुक्रवार मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको सञ्चारगृह र पत्रकारिता अवसर तथा चुनौति विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी विभिन्न सञ्चारगृहका पत्रकारहरुले नेपाली सञ्चार क्षेत्रको साख जोगाउनै सकस पर्न थालेको बताएका हुन् ।
कार्यक्रमको शुभारम्भमा प्रतिष्ठानले सातवटै प्रदेशमा पत्रकारहरुसँग गरेको छलफल र अन्तक्र्रियाको अनुभव प्रस्तुत गर्नुहुँदै प्रष्ठिानका अध्यक्ष मीना शर्माले स्वतन्त्रताको वकालत गर्नुपर्ने पत्रकारिता क्षेत्र आफैं स्वतन्त्र हुन नसकिरहेको बताउनुभयो । मध्यस्थकर्ताको भूमिकामा रहनुपर्ने पत्रकारहरु नै कुनै दल वा आस्थामा विभाजन हुँदा पत्रकारहरुमा पेशागत क्रियाशीलता घट्दै गएको उहाँको भनाइ थियो । अधिकांश सञ्चारगृहसँग प्रष्ट सञ्चारनीति र स्टाइल बुक समेत नरहेको पाइएको अध्यक्ष शर्माले बताउनुभयो ।
छलफलमा सहभागी पत्रकारहरुले नेपाली सञ्चार क्षेत्रमा पछिल्लो समय उत्प्रेरणा, आकर्षण र प्रशंसाको खडेरी लाग्दै गएको बताए । यसले गर्दा आमसञ्चार क्षेत्रलाई हेर्ने आम दृष्टिकोण नै फेरिदै गएको उनीहरुको भनाइ थियो । जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्तले राज्यको चौथो अंग भनिएको पत्रकारिता क्षेत्रको स्तरोन्नति र तिनमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धिका लागि जिम्मेवार निकाय नै नरहेको जिकिर गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रमा मिहिनेत गर्ने प्रवृत्ति नै हराउदै गएको बताउनुभयो । जनता टेलिभिजनका ग्रुप एडिटर दीपेन्द्र दोङ तामाङले नेपाली सञ्चारगृहहरुमा सम्पादीय अवधारणा नै हट्दै गएको धारणा राख्नुभयो । सम्पादकीय संस्कार हराएर अहिले सम्पादकको भूमिका समाचार डेस्क र सञ्चारगृहका मालिकबीच समन्वय गराइदिने संयोजकमा सीमित हुन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । पत्रकारको योग्यता उसले विताएको वर्षले भन्दा उसले संप्रेषण गर्ने समाचारको वजन हेरेर हुनुपर्नेमा पत्रकार तामाङले जोड दिनुभयो ।
न्यूज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौडेलले गम्भीर पत्रकारिता गर्न चाहनेका लागि अहिले अझ बढी अवसर रहेको बताउनुभयो । तर पत्रकारितालाई सबैभन्दा सजिलो क्षेत्रको रुपमा लिने प्रवृत्तिले पत्रकारिता क्षेत्रको साख खस्किदै गएको उहाँको भनाइ थियो ।
इमेज टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चारविज्ञ डा महेन्द्र विष्टले पत्रकारितामा राजनीतिकरण भन्दा व्यापारीकरण हुनु बढी चिन्ताको विषय रहेको औंल्याउनुभयो । व्यापारीकरणले पत्रकारिताको सबै धर्म र इथिक्स ध्वस्त पार्ने उहाँको भनाइ थियो । राम्रो पत्रकारले राम्रो मिडिया नपाउनु र मिडिया हाउसले योग्य पत्रकार नपाउनु फरक फरक समस्या रहेको बताउदै उहाँले यी दुवै अहिले नेपाली सञ्चार क्षेत्रको समस्या रहेको औंल्याउनुभयो । प्रविधिको विकास सञ्चार क्षेत्रको नयाँ चुनौतिका रुपमा देखा परेको भन्दै डा विष्टले नेपाली पत्रकारिता क्षेत्र पछिल्लो समयमा यसैको घेराबन्दीमा परेको जिकिर गर्नुभयो ।
कार्यक्रमको सहजकर्ताको रुपमा रहनुभएका वरिष्ठ पत्रकार राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रमा सम्पादकीय स्वतन्त्रता बाँकी नै रहेकोले बर्बाद नै भइसकेको रुपमा परिभाषित गर्न नहुने बताउनुभयो । स्वतन्त्रता कायम रहेसम्म पत्रकारिता क्षेत्रले चिन्ता गर्न नपर्ने उहाँको जिकिर थियो । अवसरसँग बन्धन साट्न नहुने तर्क गर्दै उहाँले पत्रकारिताका लागि लाइसेन्स आवश्यक हो कि भन्ने अवधारणा नै गलत रहेकोे दाहालको भनाइ थियो ।
छलफलमा रासस, नेपाल टेलिभिजन, नेपाल पत्रकार महासंघसहित विभिन्न सञ्चारगृहका सम्पादक तथा त्रियाशील पत्रकारहरुको सहभागीता थियो ।