काठमाडाैं । जागरुक युवा अभियान नेपालले विगत वर्षहरुमा झैँ यसवर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाउँदै छ।
अभियानले विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको हो । तर यस वर्ष भने नेपाली टोपी दिवसको औपचारिक कार्यक्रम नहुने र सामाजिक सञ्जालबाटै जे सकिन्छ त्यही कार्यक्रम गर्न आयोजक जागरुक युवा अभियान नेपालले सबैमा अनुरोध गरेको छ।
विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा यस संस्थाले काठमाडौँको माइतीघर मण्डलामा भेला भइ प्रभातफेरी कार्यक्रम गर्दै आएको थियो । कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहने गरेकोमा यसपटक भने विश्व महामारीका रुपमा फैलिएको कोरोना प्रभावको असर नेपाली टोपी दिवसको कार्यक्रममा पनि पर्ने देखिएको हो । विगत २ वर्षदेखि कोरोनाका कारण प्रभातफेरी कार्यक्रम भएको थिएन । यद्यपी टोपी दिवसका अन्य कार्यक्रम भने जारी रहेका छन् ।
अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरि मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । ०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरुपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनु पर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको उनले जानकारी दिए ।
४ वर्षअघि यस संस्थाले माइतीघरमा सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रदर्शन गरेको थियो । हरेक वर्ष नयाँ नयाँ कार्यक्रम गर्ने गरिए पनि यसवर्ष भने भीडभाड गरि कार्यक्रम नगरिने संस्थाले जनाएको हो ।
यस वर्षको १० औं नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’ रहेको छ । जागरुक युवा अभियान नेपालका अभियन्ताहरु घनश्याम श्रेष्ठ, रामजी बलामी, ज्ञानमणि नेपाल कालोटोपी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, जनक कार्की, लक्ष्मण लम्साल, बसन्त हुमागाइँ, राजेश खत्री रहेका छन्।