काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा शुरु भएको छ ।
एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ । भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी पदमा छिटै छलफल गरी निष्कर्षमा पुग्नेछाैँ,’ एमालेका एक नेताकाे भनाइ छ ।
राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपतिबारे धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।
एमालेका ती नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जनाभन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । एमाले स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ ।
यसैगरी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ । समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेत्री हुनुहुन्छ । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा अन्तिम अवस्थामा ओलीलाई साथ दिनुभएकाे थिया े।
दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि बिदा हुँदै हुनुहुन्छ ।
एमालेबाट सुवास नेम्वाङ धेरै सम्भावना भएको नेतामा पर्ने एमालेका एक नेता बताउँछन् । ‘पार्टीभित्रको भूमिका र विगतको अनुभवले पनि उहाँ उपयुक्त नेता हो,’ ती नेताकाे भनाइ छ।
संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफै पनि उक्त पदमा जान इच्छुक देखिन्छन् । यसैगरी एमालेले आफ्नो पार्टीभित्र रहेका अन्य केही पुराना र दलित जनजातिका नेतालाई पनि राष्ट्रपति बनाउन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार एमाले अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदारका रूपमा रहनुभएकाे छ ।