रसुवा । संस्कृति तथा खेलकुदको प्रवर्द्धन गरौं, सुन्दर समुन्नत राष्ट्रको निर्माण गरौं भन्ने मूल नाराका साथ रसुवामा प्रथम तामाङ संस्कृतिक तथा कराँते प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।
नेपालको उत्तरतर्फ चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला रसुवामा तामाङ समुदायको बाहुल्यता रहेको छ । तामाङ समुदायको मौलिक परम्परा, कला, संस्कृति, पर्यटन क्षेत्रको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ सोनाम लोछारको अवसरमा प्रतियोगिता आयोजना हुन लगेको रसुवा स्पार्ट एकेडेमिका अध्यक्ष विजय मोक्तानले बताउनुभयो ।
प्रतियोगिता २०७९ माघ ७ र ८ गते कालिका गाउँपालिका १ राम्चे स्थित खेलकुद ग्राउन्डमा सञ्चालन हुनेछ । प्रथम तामाङ संस्कृतिक तथा कराँते प्रतियोगिता अर्तगत जिल्लास्तरीय कराँते प्रतियोगिताामा पुरुष र महिला गरी विभिन्न विधामा हुने प्रतिस्पर्धामा करिव १६० खेलाडि सहभागी हुने अनुमान गरिएको छ ।
यस प्रतियोगितामा पुरुषतर्फ २० देखि ६० के जी तौल समूह र महिलातर्फ २० देखि ५५ केजी तौल समूहका खेलाडीले सहभागिता जनाउनेछन् । विजेता समूहलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । राइजिङ स्टार महिला र पुरुष दुई जना र बेस्ट ल्पेयर महिला र पुरुष दुई जनालाई ट्रफि र नगद ५ हजार प्रदान गरिनेछ ।
त्यसैगरी, तामाङ सांस्कृतिक प्रतियोगितामा रसुवा जिल्ला भित्रका २७ वटै वडाहरूबाट एक एक समूह गरी करिव २८० प्रतिस्पर्धी सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी समूहबाट प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगी समूहले रसुवामा प्रचलित विभिन्न वडाका तामाङ संस्कृति झल्कीने पहिरन र भाषा प्रयोग, टुङना र विगुल अनिवार्य, एक समूहमा कम्तीमा ५ महिला र ५ पुरुष अनिवार्य र तामाङ चौतारी होई ( वर वर होई, तामाङ दोहोरी ) अनिवार्य हुनुपर्ने मोक्तानले बताउनुभयो । साथै कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता रहनेछ ।