काठमाडौं । कर्णाली प्रदेशसहित तीनवटा प्रदेशहरुमा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ ।
कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशसभामा सरकारमा दाबी पेस गर्न दलहरुलाई दिएको समय आज सकिन लागेको हो ।
कर्णाली प्रदेशसभामा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गर्नुभएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ ।
सुदूरपश्चिम प्रदेशसभामा पनि सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने अवस्था छ ।
प्रदेश सरकारको नेतृत्वको दौडमा रहेको एमालेले संसदीय दलका नेतामा राजेन्द्र रावललाई चयन गरिसकेको छ । त्यसैले रावल नै मुख्यमन्त्री बन्ने सम्भावना छ । अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको उहाँले बताउनुभयो ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।
यता लुम्बिनी प्रदेशमा पनि सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदै छ ।
प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा एमालेलाई दिने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रले सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने अडान राखेको छ ।
तर आज मध्याह्न १२ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालले बताउनुभयो ।
प्रदेश प्रमुख अमिक शेरचनले आज अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको छ ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।