धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई बुधवार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उहाँले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।
माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । उहाँलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन छ ।
यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनुभएको छ । बुधवार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गर्नुभएको थियो । सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेस गर्नुभएको हो ।
कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ। राप्रपाले एक मन्त्रालय दावीसहित मुख्यमन्त्री समर्थन गरेको जनाइएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।