काठमाडाैं । उपत्यकाका १५ रुग्ण योजनाका निर्माण व्यवसायीले विभिन्न समयमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको बैठकमा उहाँहरूले आआफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताउनुभएको हो ।
पन्ध्र आयोजनामध्ये कतिले माघ, कतिले फागुन त कतिले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सो अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ थापा र विभिन्न आयोजनाका प्रमुख र सम्बन्धित निर्माण कम्पनीका तर्फबाट प्रतिनिधि सहभागी हुनुभएको थियो ।
निर्माण व्यवसायीले आआफ्नो ठेक्कामा रहेको सजिलो र अप्ठ्यारोका बारेमा जानकारी गराउनुभएको थियो ।
यसरी प्रतिबद्धता जनाउने कम्पनीमा तुदी/प्रेरा जेभी बागडोल ललितपुर, दिवा/शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, आशिष सिएम जयबाबा जेभी, महालक्ष्मी/वल्र्डवाइड भण्डार धोदुङ जेभी, सुनकोशी/प्रजिल जेभी, महर्जन निर्माण सेवा र ड्रागन–महर्जन जेभी रहेका छन् । समय सीमाभित्र सम्पन्न नभएका तर स्थानीय तहले सम्पन्न गरिसकेका आयोजना फरफरक गर्न दुवै पक्षबीच सहमति भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायी र कर्मचारीका सम्बन्धमा भएका खराब धारणा बदल्न लाग्नुपर्ने बताउनुभयो । राजनीतिज्ञ, कर्मचारी व्यवसायी सबै मिले राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।