काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा पुग्नुभएकाे छ। पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र पार्नुभएकाे छ ।
मन्त्रिपरिषद् विस्तारको तयारी शुरू भएसँगै एमाले र माओवादी नेताहरू मन्त्रीका लागि लबिइङमा जुटेका छन्। नेताहरूका अनुसार एमालेले नाै र माओवादीले ६ मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ । माओवादीबाट प्रधानमन्त्री दाहालसँगै नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय पाइसक्नुभएकाे छ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न पुस २७ मा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल। त्यस्तै, एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसहित तीन मन्त्री नियुक्त भइसक्नुभएकाे छ। अब एमालेले पाँच मन्त्रालय पाउनेछ।
चार मन्त्रीका लागि एमाले नेताहरू गोकर्ण विष्ट, योगेश भट्टराई, ठाकुर गैरे, पदम गिरी, सूर्य थापा, जुली महतो, महेश बर्तौला, विद्या भट्टराई र प्रेमलाल महर्जन दाबेदार देखिएका छन्।
यसैगरी, माओवादीले पाउने पाँच मन्त्रालयका लागि पनि केही सांसद लबिइङमा लागेका छन्। यसअघि माओवादीका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमा दाबी गरेका थिए। तर, गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री मागेपछि उनी ‘ब्याक’ भएकाे समाचार स्राेतकाे दाबी छ ।
त्यस्तै, माओवादीका यसअघि मन्त्री भइसकेका वरिष्ठ नेताहरू पनि मर्यादाक्रमले गर्दा दाबेदार देखिएका छन्। जसले गर्दा नयाँ पुस्तासँगै केही पूर्वमन्त्रीले पनि रुची देखाएका छन्। जसमा सुदन किराँती, रेखा शर्मा, शक्ति बस्नेत, पूर्ण घर्ती मगर, अमनलाल मोदी, हितबहादुर तामाङ, सूर्यमान दोङ, छिरिङ लामा (कार्चेन), महेन्द्रबहादुर शाही, राजन दाहाल र माधव सापकोटा छन्।