लोकेन्द्र प्रशाद जोशीदार्चुला । सदरमुकाम खलंगा बिरेन्द्रवन सडक छेउमै अहिले बसपार्क छ । सडक छेउ, कम क्षेत्रफल भएको साघुरो ठाउँ र बसको संख्या बढी हुन थालेपछि व्यवसायी मात्रै हैन, आवतजावत गर्ने स्थानीयलाई समेत हैरानी भएको छ ।
२०७० सालको बाढीले बसपार्क बगाएको भएपनि हालसम्म नगरपालिकाले बसपार्कको उचित व्यवस्थापन गर्न सकेको छैन् । टिकट काउन्टर समेतबीच सडकमै सञ्चालित छ । साना ठुला यातायातका साधनहरु सडकमै पार्कीङ गरिदाँ यात्रु र यातायात व्यावसायीहरु समस्यामा परिरहेका छन् ।
अहिले महाकाली यातायात व्यावसायी समिति, पवनदूत यातायात व्यावसायी समिति र शुदूरपश्चिम यातायात व्यावसायी समिति गरी ३ वटा यातायात समितिका गाडीहरुले दैनिक सेवा संचालन गरिरहेका छन् । दैनिक ५ ओटा बसहरु महाकाली यातायत र एक एक ओटा पवनदूत र शुदूरपश्चिम यातायातको बसहरु दार्चुलाबाट महेन्द्रनगर, धनगढी र काठमाडौंकोलागि नियमित छुट्ने गरेका छन् ।
सबै गरेर ५० ओटा लामो दुरीका बसहरु र ८० भन्दा बढी छोटो दुरीका जीपहरु जिल्ला सदरमुकामकै एकमात्र खलंगा बसपार्कमा भित्रिने र बाहीरीने गरेका छन् । सडक छेउभन्दा बाहिर पर्याप्त पार्किङ क्षमताको बसपार्क तत्कालै बनाउनु पर्ने आवश्यकता रहेको शुदुरपश्चिम यातायात व्यावसायी समितिका दार्चुला शाखा प्रमुख पुर्ण बहादुर बमले आग्रह गर्नुभयो ।
बस चालकहरुका अनुसार पार्किङ गर्नका लागि ठाँउ नपाइने भएकोले अरु गाडीलाई उछिनेर बसपार्कमा छिटो पुग्न प्रतिस्पर्धा नै हुने गरेको छ । ढिलो पुगियो भने बाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । काठमाडौंकोलागि छुट्ने अधिकांश बसहरु त गल्फै क्षेत्रमै रोकिने गरेका छन् । जीपहरु ब्ांगाबगडदेखि गल्फैसम्म सडक छेउमा पार्किङ गर्नुपर्ने बाध्यता छ । बसपार्कभन्दा बाहिर गाडी राख्दा गाडीको सिसाहरु तोडफोड हुने र गाडी भित्र भएको सामान चोरी हुने गुनासो व्यवसायीको छ ।
चालु आर्थिक बर्षको नगरसभाबाट बसपार्क व्यवस्थापन गर्नको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएपनि काम शुरु भएको छैन् ।