–दीपा शर्मा
मुलुकमा २०६२/०६३ को जनआन्दोलनपश्चात लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भइरहेको छ । वर्तमान राष्ट्रपति विधादेवी भण्डारीको ५ वर्षे कार्यकाल फागुन २६ मा सकिदै छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षका लागि हुने र दुई पटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने संबैधानिक व्यवस्थाका कारण यही फागुन २५ गतेभित्र राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । यही बाध्यात्मक अवस्थाका कारण फागनु २५ गते राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । राष्ट्रपति निर्वाचनको उम्मेदवारीमा भर्खरैमात्र बदलिएको नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको आठ दलीय नयाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भर्खरै मात्र सत्ताबाट बाहिरिएको नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको मनोनयन दर्ता भइ अन्तिम नामावली पनि प्रकाशित भइसकेको छ ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्म तनहुँको रिस्ती बाहुन पोखरामा भएको थियो । उहाँ बौद्धिक तथा खारिएका नेताको रुपमा परिचित हनुहुन्छ । नेता पौडेलमा आध्यात्मिक क्षेत्रतर्फ विशेष झुकाव रहेको पाइन्छ । उहाँ २०१५ देखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । बिपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भइ १६ वर्षको कलिलो उमेरमै राजनीतिमा प्रवेश गर्नुभएको थियो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण नेता पौडेल पटकपटक गरी १३ वर्षको कठोर जेल जीवन बिताउनु भएको थियो । त्यस्तै, विभिन्न समयका प्रतिगमन विरोधी आन्दोलनका क्रममा अग्रपङ्तीमा रहेका कारण पटक पटक नजरबन्दमा पनि पर्नु भएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पौडेल तनँहु क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । २०४८ सालको संसदीय निर्वाचनमा तनँहु क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तँनहु क्षेत्र नं २ बाट विजय हासिल गर्नु भएको थियो । २०५१ सालदेखि २०५५ सम्म प्रतिनिधि सभाको सभामुख, उपप्रधानमन्त्री, कार्यवाहक सभापतिलगायत विभिन्न महत्वपूर्ण मन्त्रालयको मन्त्री भइसक्नु भएको छ । नेता पौडेलले २०६२ सालदेखि २०६५ भदौसम्म शान्ति तथा पुनर्निर्माणको जिम्मेवारी सम्हाल्नुभएको थियो । पहिलो पटक राष्ट्रपतिको प्रत्यासी उम्मेदवार बन्नु भएका उहाँसगँ प्रधानमन्त्री चुनावमा १७ पटक पराजित भएको तितो अनुभव छ । माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा आवद्ध दलहरुको साथ भएकाले नेता पौडेल गणतान्त्रिक राष्ट्रको तेस्रो राष्ट्रपति हुने करिब पक्का छ ।
सुवासचन्द्र नेम्वाङ
संसदीय राजनीतिमा दख्खल राख्ने नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको थियो । उहाँ २०२८ सालबाट नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीतिमा प्रवेश गर्नु अघि उहाँ नेपाल बार एसोसियसनको महासचिव तथा एक सफल कानुन व्यवसायी हुनुहुन्थ्यो । प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेता नेम्वाङ इलाम जिल्ला क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो । २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नु भएका नेता नेम्वाङ २०४८ देखि २०५२ साल राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ । २०५१ सालदेखि लगातार सांसद चुनिनु भएका नेता नेम्वाङ पार्टी भित्र शालीन, इमान्दार, मृदुभाषी नेताका रुपमा परिचित हुनुहुन्छ । २०५६ सालको प्रतिनिधि सभा सदस्यको चुनाव जितेपछि उहाँले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्नु भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री तथा सामान्य प्रशासन मन्त्री भइसक्नु भएको छ । २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र न २ बाट निर्वाचित भएर संविधान सभाको अध्यक्ष भइसक्नु भएको छ । नेता नेम्वाङले नेपालको संविधान २०७२ को निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । संविधान सभाबाट बनेको नेपालको संविधान २०७२ मा धर्म निरपेक्षता कायम गर्न अहम् भूमिका खेल्नु भएका उहाँलाई गणतन्त्र घोषणा गर्ने काममा पनि मुख्य भूमिका खेल्नुभएको थियो । विगतमा उहाँले गरेका राम्रा कार्यको मूल्याङ्कन गर्दै माओवादी केन्द्रलगायत सत्ता गठबन्धनका मतदाताले मतदान गरेमा राष्ट्रपतिको सम्भावना देखिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
वर्तमान र पूर्वराष्ट्रपतिमाथि लागेका आरोप
गणतान्त्रिक नेपालकाे प्रथम राष्ट्रपति डा. रामवरण यादव विवादको घेराबाट अछुतो रहन सक्नु भएन । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाएर अर्को प्रधानसेनापति बनाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारकाे निर्णय उल्ट्याएर उहाँले कटवाललाई नै पदस्थापन गराउनुभएकाे थियाे । जननिर्वाचित सरकारले गरेकाे निर्णय उल्ट्याएर राष्ट्रपति यादवले संवैधानिक राष्ट्राध्यक्षकाे भूमिकामा नरहेकाे उहाँमाथि आरोप छ । चौतर्फी विवादका वाबजुत पनि लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको भन्दै विवादित बन्नुभएको थियो । सरकारी ढुकुटीबाट पटक पटक विदेशमा आफ्नो औषधोपचार गरेको विवरण सञ्चार माध्यममा आएपछि चर्को आलोचना उहाँले खेप्नुपरेको थियो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि पटक पटक विवादित भइरहनु भयो । संबैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्न नसकेको, पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएको, संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको जस्ता विविध आरोप उहाँमाथि लागेको छ ।
नयाँ राष्ट्रपतिबाट आशा
वर्तमान अवस्थामा राजनीतिक दलले गठबन्धन बनाउने र भत्काउने खेलमा केन्द्रित भएको कारण नागरिक, राजनीतिक दलबीच दूरी बढेको छ । नेपाली राजनीतिलाई फोहोरी खेल होइन संस्कारको राजनीतितर्फ डोहाेर्याउन नयाँ राष्ट्रपतिले अभिभावकको जिम्मेवारी निर्वाह गरुन् भन्ने जनअपेक्षा छ । राष्ट्रपतिलगायत ठुला–वडाको सवारीका नाममा जनताले ब्यहाेर्दै आएको सास्तीको अन्त्यका लागि नेपाल सरकारले वैकल्पिक व्यवस्था मिलाओस् भन्ने सर्वसाधारणकाे माग छ । यसतर्फ पनि आगामी निर्वाचनमार्फत निर्वाचित भएर आउने राष्ट्रपतिले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ । राष्ट्रको सार्वभौमसक्ताको संरक्षण गर्दै संवैधानिक मर्यादा भित्र रहेर राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति सजग होउन् भन्ने आमसर्वसाधारणकाे माग छ ।