काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता तथा ९ दलीय गठबन्धनका उम्मेवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
संघीय संसदमा बिहीबारभएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाउनु भएको छ ।
पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाउनु भएको हो ।
एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत भार प्राप्त गर्नृुभयो। उहाँले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाउनु भएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए ।
नव निर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्िरचण्डले बधाई दिनुभएको छ । नव निर्वाचित राष्ट्रपति पौडेललाई पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवालदी) अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले बधाई दिनुभएको छ ।