काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनीयताको शपथ ग्रहण लगत्तै शीतलनिवासमा पदभार सम्हाल्नु भएको छ ।
राष्ट्रपति पौडेललाई पदभार समाल्ने लगत्तै विभिन्न राष्ट्रबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना आउन थालेको छ । राष्ट्रपति पौडेललाई सोमबार साँझसम्म अमेरिकाको साथै छिमेकी मुलुक भारत र चीनले बधाई तथा शुभकामना दिएको छ ।
संयुक्त राज्य अमेरिकाले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गर्ने बित्तिकै बधाई ज्ञापन गरेको हो । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले उहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
राष्ट्रपति पौडेललाई अमेरिकापछि छिमेकी मुलुक भारतले बधाई ज्ञापन गरेको हो । राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।
पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको कार्यकालमा उहाँको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ । द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उहाँले बताउनुभएको छ ।
राष्ट्रपति पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।