काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई उपराष्ट्रपति निर्वाचनमा आचारसहिंता पालना गर्न ध्यानाकर्षण गराएको छ ।
उपराष्ट्रपतिको लागि चैत ३ गते संसद भवनमा मतदान हुँदैछ । आयोगले मतदान हुने ४८ घण्टा अघिदेखि प्रचारप्रसार निषेध गरेको छ । तर राजनीतिक दलले भने आयोगले जारी गरेको निर्वाचन आचारसहिता विपरीत आफ्नो पक्षका उम्मेदवारलाई जिताउन छलफल, भेला र बैठक गरिरहेका छन् ,।
दलल उपराष्ट्रपति निर्वाचनकै सन्दर्भबारे दलले छलफल, भेला र बैठक गरेपछि त्यस्तो गतिविधि बन्द गर्न ध्यानाकर्षण गराएको हो ।
उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा बिहीबार आयोगले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा बिहीबारजारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा गर्न नपाइने उल्लेख छ ।
यसैगरी सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको छ ।