काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी विधेयक संसदमा पेश भएको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन (विधेयक, २०७९) आइतबार प्रतिनिधिसभामा पेश भएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक प्रस्तुत गर्नु भएको हो । यो विधेयक दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको हो ।
मन्त्री शर्माले सङ्क्रमणकालीन न्याय प्रक्रिया ढिलाइ भएको हुनाले छिटोभन्दा छिटो विषयलाई टुङ्ग्याउनका लागि संसद्मा विधेयक पेश गरिएको बताउनुभयो । मन्त्री शर्माले विधेयक प्स्तुत गर्दै द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानविन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।
विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइएको प्रष्ट्याउनु भयाे । विधेयक सर्वोच्च अदालतको आदेश, कानुन र अन्तर्राष्ट्रिय मान्यता अनुसार नै विधेयक ल्याइएको उहाँको भनाइ छ ।
विधेयकप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाउनु भएको छ । सांसद शाहीले ‘नीति भन्दा बाहिर गएर मान्छे मार्दै हिड्ने अनि विधिशास्त्र विपरीत यस्तो विधेयक ल्याउन मिल्छ ?’ भन्दै आपत्ति जनाउनु भएको हो । यो विधेयक फिर्ता हुनुपर्छ’ बैठकमा उहाँले भन्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ समेत पेश प्रस्तुत गर्नुभएको छ ।
मन्त्री रेखा शर्माले प्रधानमन्त्री दाहाल ‘का तर्फबाट उक्त विधेयक प्रतिनिधिसभामा पेश गर्नु भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई अघिल्लो बैठकमा गणपूरक सङ्ख्या नपुग्दा निर्णयार्थ प्रस्तुत गरिएको थिएन ।
सभामुख देवराज घिमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि सोमबार विश्वासको मत लिने कार्यक्रम रहेको सभालाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिनको १ बजे बस्ने भएको छ ।