काठमाडौं । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मुलुकका ६० आंगिक १ हजार ४० सामुदायिक क्याम्पस मध्ये १ हजार ७८ क्यापसमा मतदान सम्पन्न भएको छ । २ आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा यस अघि नै निर्विरोध नेतृत्व चयन भइसकेको छ । ती बाहेक अन्य क्याम्पसमा मतदान भएको हो ।
निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकेको थियो । ढिला सुरु भएका र बीचमा अवरुद्ध भएका केही क्याम्पसले ४ बजेपछि पनि मतदान जारी राखेका थिए । समितिका सदस्य सचिव पशुपति अधिकारीले देशभरका क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भएको जानकारी दिनुभएको छ ।
विद्यार्थीबीच भएको झपको कारण विभिन्न ठाउँकामा २० क्याम्पसमा भने निर्वाचन अवरुद्ध भएको छ । काठमाडौं उपत्यकाका २२ मध्ये ७ क्याम्पसमा आइतबार निर्वाचन हुन सकेन । पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ ।
सुदूरपश्चिम विश्वविद्यालयका ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले जानकारी दिनुभएको छ ।
‘५ क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको’ उहाँले भन्नुभयो, ‘अन्य आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया जारी छ ।’ उहाँले निर्वाचनका लागि छलफलमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताउनुभयो ।
बाजुराकाे बुढीनन्दा क्याम्पसमा आइतबार दुई विद्यार्थी संगठनबीच झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरीले २४ राउण्ड हवाइ फायर गरेको छ।
झडपले उग्र रुप लिँदै गएपछि प्रहरीले अश्रुग्यास र २४ राउन्ड हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कविन्द्रसिहं बोहोराले बताउनु भयो।
हवाइ फायरपछि मतदान अघि बढे पनि फेरि स्थगित भएको छ। नेविसंघसहित सत्ता गठबन्धनका विद्यार्थीहरूले खुकुरी देखाउँदै निर्वचान भाँड्न खोजेको प्रहरीले जनाएको छ।
झडपले उग्ररूप लिएपछि हवाइ फायर गर्नु परेको प्रहरीले जनाएको छ। त्यहाँ ४ सय १२ मतदाता थिए। २ सय ५३ मत खसेपछि मतदान रोकिएको हो।