काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको धारणा व्यक्त गर्नुभयो ।
संसद बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उहाँले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
संसदमा स्थायित्वको वाचाका बाबजुत सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको बताउँदै उहाँले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उहाँले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’
प्रधानमन्त्री दाहाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दलविशेषको सरोकारको विषयमात्र नभएको बताउनु भयो । प्रधानमन्त्रीले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले एमाले राप्रपा पनि विश्वासको आफूलाई मत नदिने निर्णय पुन विचार गर्न आग्रह गर्नुभयो । देशमा यतिखेर राष्टिय सहमतिको सरकार आवश्यक छ, यस्तो बेला उहाँहरुले विश्वासको मत नदिने भन्नु भएको छ प्रधानमन्त्री दाहालले भन्नुभयो एमाले अध्यक्ष ओलीतिर फर्केर भन्नुभयो, एमाले र र राप्रपालाई निर्णय पुन विचार गर्न आग्रह गर्दछु । फेरि एक पटक सोच्नुस् तपाईहरु ।