काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुसँगको सहयात्रा के कारणले टुटाएको हो ? भनेर प्रश्न गरेको छ ? प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकमा सोमबार विश्वासको मत मागेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले त्यस्तो प्रश्न गर्नु भएको हो ।
दाहाललाई प्रधानमन्त्री गराउँदा महत्पूर्ण भूमिका निर्वाह गरी त्यही सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहनु भएका पौडेलले भन्नुभयो– सोधे, ‘तपाईलाई के कारण पर्यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?
प्रधानमन्त्री दाहाललाई पौडेलले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको ? भनेर प्रश्न गर्नु भयो । ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।’
उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने धारणा व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राख्नुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयोे, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।” उहाँले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको बताउनुभयो ।
मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राख्नुभएको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्व अर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकारात्मक हुन पुगेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ, पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, सरकार संसदीय अङ्कगणितमा केन्द्रित हुँदा धरासयी हँुदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने सङ्केत देखिन्न ।”