काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा दोस्रो पटक पनि विश्वासको मत पाउनु भएकाने छन् ।
प्रधानमन्त्री दाहालले सोमबार आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाउनु भएको छ । प्रतिनिधिसभाका ८९ सांसदले प्रस्तावको विपक्षमा मत दिनुभएको छ ।१ सासदले भने मत दिनु भएन ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका छन् ।
नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीको विश्वासको मत बारे. भएको मतदानमा २ सय ६२ सांसद सहभागी हुनुभएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल यसअघि नेकपा एमालेको निर्णयक भूमिकामा पुस १० मा प्रधानमन्त्री बन्नु भएको हो । एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्री बन्नु भएका दाहालले २६ पुसमा पहिलो पटक विश्वासको मत लिनु भएको थियो । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका हुन् । संसदको दोस्रो ठूलो दल एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन विश्वासको मत लिनु परेको हो ।
सरकारलाई समर्थन गर्ने कुनै पनि राजनीतिक समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले त्यसको ३० दिनभित्र प्रतिनिधिसभामा पुन विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रधानमन्त्रीको विश्वासको सँगै प्रतिनिधिसभाको सोमबारको बैठक सकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।