काठमाडौं । सत्तारुढ गठबन्धनमा लामो समयको प्रयासपछि मन्त्रालय भागवण्डा टुंगिएको छ । गठबन्धन नेताहरुको बुधबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा छिनोफानो गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय ? भन्नबारेमा सहमति जुटेको जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । कसलाई कुन मन्त्रालय ? भन्ने बारे पनि मोटामोटी सहमति भइसकेको छ । तर पूर्ण रुपमा टुंगिन भने बाँकी छ ।
सह अध्यक्ष श्रेष्ठका अनुसार बिहीबार बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ’ उहाँले भन्नुभयो ।
बालुवाटार स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १ र १ मन्त्रालय लिने सहमति भएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा जानु हुने भएको छ । शाहले शहरी विकास मन्त्रालय माग गर्नु भएको छ । ३ मन्त्रालय दाबी गरिरहेको समाजवादीलाई प्रधानमन्त्रीले एउटा राज्यमन्त्री थपिदिने योजना बनाउनु भएको बालुवाटार स्रोतले बताएको छ ।