काठमाडौं । नेपाली कांग्रेसका नेता अर्थशास्त्री डा स्वर्णिम वाग्लेले पार्टी छोड्नु भएको छ ।
कांग्रेसभित्र कुशल अर्थशास्त्रीको रुपमा चिनिनु भएका डा. वाग्ले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई ‘‘हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो’ भन्ने सन्देश पठाएर पार्टी छोड्नु भएको हो ।
वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । वाग्लेले यही प्रकरणमा महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको जानकारी दिनुभएको हो ।
स्वर्णिमले नेताहरुलाई पठाएको सन्देश
प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।
अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।
कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।
स्वर्णिम