सप्तरी । कञ्चनरुप नगरपालिकामा बीमा रकमका लागि श्रीमतीले श्रीमानलाई करेन्ट लगाएर हत्या गरेको रहस्य खुलेको छ। कञ्चनरुप –३ दास टोल बस्ने ३० वर्षीया कोशिलादेवी दासले श्रीमान् ३७ वर्षीय शिवशंकर दासको करेन्ट लगाएर हत्या गरेको खुलेको हो।
कात्तिक ६ गते शिवकुमारको शव घरमा फेला परेको थियो। इलाका प्रहरी कञ्चनपुरले घटनाबारे अनुसन्धान गर्दा उनलाई श्रीमतीले हत्या गरेको खुलेको हो । कोशिलाले बीमा रकमको लोभमा श्रीमानलाई करेन्ट लगाएर हत्या गरेको पत्ता लागेको डिएसपी दीपक रायले जानकारी गराउनु भएको छ।
प्रहरीका अनुसार कोशिला र शिवशंकरको परिवारको आर्थिक अवस्था निकै कमजोर भएको देखेर गाउँकै भाउजू पर्ने शान्तिदेवी दासले घटनामा भूमिका खेलेकी थिइन्। शान्तिले घटना भएको २ महिना अगाडि शिवशंकर दासको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स २०÷२० लाखको बीमा गराइदिएकी थिइन्।
बीमा गराउनका लागि रकम समेत शान्तिले नै तिरिदिएकी थिइन्। पछि त्यो रकम र पहिला दिएको साँवा र ब्याज एकमुष्ट दिनू भनी बारम्वार शिवशंकरको घरमा आएर उनी र श्रीमती कोशिलादेवी दासलाई गाली–गलौज धाक–धम्की दिई दिनरात ताकेता गर्छिन्।
त्यो रकम दिन नसक्दा शान्तिले मृतककी श्रीमती कोशिलालाई उनको श्रीमानको दुई ठाउँमा बीमा छ, त्यो बीमा रकम दोब्बर पनि आउँछ र ऋणसमेत चुक्ता हुन्छ भनी आफ्नो श्रीमान्को हत्या गर्न लगाएकी थिइन्। पूर्वयोजनाअनुसार कात्तिक ५ गते शान्तिले आफ्नो घरमा शिवशंकरलाई बोलाएर मदिरा सेवन गराई उनको घर पठाएकी थिइन्।
शिवशंकर घर पुगेपछि उनकी श्रीमती कोशिलाले उनको हातमा करेन्ट लगाएर हत्या गरेको तथा हत्या गर्ने बेलामा कोशिलाकी देवरानी हिरणदेवी दासले टर्च बालेर सहयोग गरेको भनी खुल्न आएको डिएसपी रायले बताउनु भयो ।
प्रहरीले हत्यामा सलग्न रहेको आरोपमा मृतककी श्रीमती कोशिलादेवी दास, कोशिलाकी देवरानी हिरण देवी दास र भाउजू शान्तिदेवी दासलाई पक्राउ गरेको हो ।