काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरु मन्त्रालयको बाँडफाँड टुंग्याउन छलफलमा जुटेका छन् । गठबन्धनले संख्या बाँडफाँड मिलाए पनि कसलाई कुन मन्त्रालय दिने ? भन्नेमा समस्या भएकोे छ ।
शीर्ष नेताहरुबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरु बेग्लाबेग्लै छलफल गरिरहनु भएको छ ।
प्रधानमन्त्रीसँगको छलपलपछि जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा नेता शरदसिंह भण्डारी लगायत नेताहरु बालुवाटारबाट बाहिरिनुभएको छ ।
प्रधानमन्त्रीले अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्रीले कांग्रेस नेतापछि नेकपा एकीकृत समाजवादीसँग छलफल गर्ने तयारी छ । एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल बालुवाटार पुगिसक्नु भएको छ ।
मन्त्रिमण्डललाई आजै पूर्णता भने पनि बिस्तार अझै अनिश्चित भएको छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल बिस्ताको लागि प्रयास गरे पनि प्राय: दलले भौतिक पूर्वाधार, शहरी विकास, शिक्षा, स्वास्स्थ र श्रम लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय दाबी गरेपछि ढिलाई भएको हो । शीर्ष नेताहरुको अहिलेसममको छलफलमा कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति हुने सकेको छैन ।
मन्त्रालय नटुंगिएकै कारणले दलहरुले पनि मन्त्रीको नाम दिएका छैनन् । दलले नाम नदिँदा प्रधानमन्त्रीलाई मन्त्रिमण्डल बिस्तार गर्न समस्या भएको छ ।