काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज केही मन्त्री थप्दै हुनुहुन्छ । गठबन्धनका दलसँग उहाँले मन्त्रीको नाम एक बजेसम्म मागेका छन् । आजै दिउँसो ३ बजे थपिएका मन्त्रीको शपथ गराउने गरी गृहकार्य थालिएको छ ।
गठबन्धनका दलहरूले यसअघि मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन् ।
सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।
यद्यपि केही दललाई मन्त्रालय बाँडफाँटको विषय अझै केही टुंगिन बाँकी हुँदा मन्त्रिमण्डल विस्तारमा विलम्ब भएको बताइएको छ ।
कांग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ८ जना मन्त्री बन्नेछन् ।
२ मन्त्रालय पाएको एकीकृत समाजवादीबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएको छ । यसअघि भौतिकमा रहनुभएका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी भएकाे यस अघिनै समाचार बाहिरिएकाे थियाे ।
लोसपाका शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्न लाग्नुभएकाे छ ।
जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताउनुभयाे । कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उहाँकाे भनाइ छ ।