काठमाडौं । गठबन्धन सरकारको मन्त्रिपरिषद्ले आज पनि पूर्णता नपाउने भएको छ । मन्त्रालयहरु १० दलले संख्यात्मक रुपमा भागबण्डा मिलाएर पनि आन्तरिक किचलोको कारण मन्त्रिमण्डलले पूर्णता नपाउने स्थिति देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस ११ मा शपथ लिएसँगै माघ ३ गते दोस्रो पटक, १४ गते तेस्रो र र २३ गते चौथो पटक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यसपछि फागुन १४ गते पाँचौ र र १६ मा छैठौँ पठक मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । प्रधानमन्त्री बनेको ३ महिनामा दाहालको यो सातौ पटक मन्त्रिमण्डल पुनर्गठन हो । सातौ पटकमा पनि मन्त्रिमण्डलले पूर्णता पाउने स्थिति भने बनेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँगै रहने भएको छ ।
सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा नै मन्त्री भागबण्डालाई लिएर समूहगत किचलो भएको छ । कांग्रेसमा डा शेयर समूहले मन्मिमण्डलमा आफ्नो पक्षको सम्मानजनक सहभागिता खोजेर किचलो गरेको हो । गठबन्धन सरकारमा कांग्रेसले अर्थ र रक्षासहित ८ मन्त्रालय पाएको छ । शेखर समूहले त्यसमा ३ मन्त्री आफ्नो पक्षको हुनुपर्ने अडान लिएको छ । सभापति शेरबहादुर देउवाले सरकारमा शेखर समूहबाट २ जनालाई पठाउने तयारी गर्नुभएको थियो । तर त्यसमा शेखर समूहले नमानेपछि आज कांग्रेसबाट ४ मन्त्रीको मात्रै शपथ हुने भएको छ ।
स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री बन्नु हुने भएको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री बन्नुहुने भएको छ । रमेश रिजाल उद्योगमन्त्री र सीता गुरुङ शहरी विकासमन्त्री बन्नुहुने भएको छ ।
२ मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालाले मन्त्रीको शपथ लिने तयार।ी गर्नुभएको छ । भुसाल कृषिमन्त्री र ज्वाला भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बन्नुहुने भएको छ ।
प्रधानमन्त्रीले अहिले भौतिकमा रहनुभएका नारायणकाजी श्रेष्ठलाई गृहमा सारेर ज्वालालाई त्यसमा शपथ गराउने तयारी गर्नुभएको हो । माओवादी केन्द्रबाट प्रधामन्त्रीसहित सरमारमा ५ जनाको सहभागिता रहने भएको छ ।
गठबन्धनमा २ मन्त्रालय पाएको जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री बन्ने विषयमा किचलो भएको छ । मन्त्रीको लागि राजकिशोर यादव र प्रदीप यादवबीच हानथाप परेपछि जसपाले आज अशोक राईलाई मात्रै शपथमा पठाउने भएको छ । राई शिक्षा, विज्ञान तथा प्रविध मन्त्री बन्नु हुने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले शरदसिं भण्डारीलाई सहरकारमा पठाउने निर्णय गरेको छ । भण्डारीे श्रम तथा रोजगार मन्त्री बन्नु हुने भएको छ ।
१ मन्त्रालय पार्टीले पाएको नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुहुने भएको छ ।