काठमाडौं । संघीय संसदको दोस्रो ठूलो दल नेकपा एमालेले उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद न्यौपाने र र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ ।
एमालेको शनिबार सचिवालय बैठकले चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले उपनिर्वाचनको लागि चितवन २ र तनहुँ १ को उम्मेदवार टुंग्याएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताउनु भयो ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । लामो समय अनेरास्ववियुमा सक्रिय न्यौपाने जिल्लामा लोकप्रिय युवा नेताको रुपमा चिनिनु हुन्छ ।
तनहुँ १ मा पनि खनालको नाममा सर्वसम्मत रुपमा आएको थियो । जिल्ला नेताहरूले शनिबार बिहान बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउन आग्रह गरेका थिए । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ क्षेत्र नम्बर १ स्थित भानु नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । त्यस क्षेत्रमा खनालका अधिकाँश आफन्त भने नेपाली कांग्रेसमा आवद्ध छन् ।
सर्वेन्द्रका दाजु सुवीर खनाल नेपाली कांग्रेसको नेता हुनुहुन्छ । उहाँ गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव हुनुहुन्थ्यो । उहाँलेपछि विज्ञको रूपमा समेत काम गर्नुभएको थियो । अर्का दाइ रवीन्द्र खनाल राजाको सक्रिय शासनका बेला सहायकमन्त्री हुनुभएको थियो ।
परिवारका अधिकाँश सदस्य कांग्रेसमा भएकोले खनाललाई उठाउँदा कांग्रेसको मत समेत तान्न सक्ने आँकलन गरेर एमालेले तनहुँ १ मा उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खनाल गएको मंसिर४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बन्नु भएको थियो । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पराजित गर्न्ु भएको थियो ।
खनाललाई उम्मेदवार बनाउँदा कांग्रेसका गोविन्दराज जोशी समूह र नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठको समेत समर्थन जुटाउन सकिने एमालेको बुझाई छ ।
एमालेले चितवन १ र तनहुँ १ को उम्मेदवार छिनोफानो गरे पनि बारा २ को टुंग्याएको छैन । बारा २ को टुंगो भोलि आइतबार मात्र लाग्ने भएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल,प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।