विराटनगर । प्रशासनले पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी हुने कार्यक्रममामा राखिएका श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर हटाउन लगाएको छ । इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा राखिएका श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर स्थानीय प्रशासनले हटाउन लगाएको हो ।
नागरिक अभिनन्दन कार्यक्रमका विषयमा आइतबार साँझ आयोजक र स्थानीय प्रशासनका बीच बैठक भएको थियो । बैठकमा सरकारी अधिकारीले ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाउन माथिबाट दबाब आएको बताएका थिए । उनीहरूको भनाइपछि आफूहरू ब्यानर हटाउन सहमत भएको राप्रपाका नेता रामु पोखरेलले जानकरी दिनुभएको छ ।
अभिनन्दन कार्यक्रमका लागि जिप्रकाले लिखित अनुमतिसमेत दिएको छैन । आयोजकका तर्फबाट अनुमति मागिएपछि जिप्रकाले ‘माथि’ जानकारी गराएको थियो । माथिको निर्देशनअनुसार जिप्रकाले अनुमति नदिएको हो । तर, प्रमुख जिल्ला अधिकारी र आयोजकबीच मौखिक समझदारी भएको छ । त्यही आधारमा कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको छ । आन्दोलनको चपेडामा पूर्व राजा समेत पहिचानवादीको तारोमा पर्न सक्ने भन्दै सुरक्षाकर्मीले चेकजाँच कडा बनाएका छन् ।
स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्न समेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि सिधै कार्यक्रम स्थलमा लैजाने तयारी भएको राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले बताउनु भयो । उहाँले सुरक्षाको कारण देखाएर प्रशासनले पूर्वराजालाई नागरिकसँग घुलमिल हुन रोक लगाएको आरोप लगाएको गुनासो गरे ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारी हर्कतको विरोध गर्नुभएको छ । ‘काठमाडौंमा जनआवाजलाई हत्केलाले थुनेर दबाउन खोज्नेहरुले इनरुवामा हुने राजाको जनअभिनन्दनका ब्यानर हटाउने आदेश दिएछन्’ उहाँले लेख्नु भएको छ– १ फेरि भन्छौं( कसैलाई निषेध नगर, शासकीय अहंकार बन्द गर ।’