काठमाडौं । ब्रेन ह्यामरेजका कारण दिवंगत पत्रकार दिपेन्द्र दोङ तामाङको परिवारलाई नेपाली पत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इन्जा)ले २ लाख रुपैयाँ सहयोग गरेको छ ।
जनता टेलिभिजन प्राङ्गणमा मंगलबार आयोजित श्रद्धान्जली सभामा संस्थाका अध्यक्ष टंक पन्त, उपाध्यक्ष विष्णु सितल र सचिव दिपक रिजालले पत्रकार दोङकी पत्नी चादँनी लामालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजयकुमार पौडेलले श्रद्धान्जली सभामा बोल्दै दोङको स्मृतिमा स्मारिका प्रकाशन र ‘कर्मचारी उपचार कोष स्थापना’ गर्ने बताउनु भएको छ । ‘यस संस्थामा पहिल्यैदेखि जोडिनु भएका दोङजीको अकल्पनीय निधन हामी सबैको लागि दुखद् हो’ उहाँले भन्नुभयो– उहाँको निधनबाट जति पीडा भए पनि शोक सन्तप्त परिवारले अब आफूलाई समाल्नुपर्छ । मन बुझाउनुपर्छ । शोकलाई शक्तिमा बदल्नुपर्छ । परिवारसँग सल्लाह गरेर जनताले उहाँको स्मृतिमा स्मारिका प्रकाशन गर्नेछ । उहाँको स्मृतिमा कर्मचारी उपचार कोष स्थापना गर्नेछ ।’
इन्जाका अध्यक्ष तथा जनता टेलिभिजनका समाचार प्रमुख पन्तले मानव जीवन अमर नभए पनि हरेक दिन सधैँसँगै चिया खाने साथी गुमाउँदा मन बुझाउन गाह्रो भइरहेको बताउनुभयो ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले तामा कलाकारिताको क्षेत्रमा प्रगति गरेका धेरै कलाकारको पछाडि पत्रकार दोङको बलियो आड रहेको उल्लेख गर्नुभयो । उहाँले आफूले एक अभिभावक गुमाएको स्मरण गर्दै, तामाङ कलाकारीता प्रस्फुटित गर्ने पत्रकार दोङको सोचलाई मर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रेडियो जनता र टेलिभिजनकी कार्यक्रम प्रस्तोता अरुणा श्रेष्ठले पत्रकार दोङले आत्मविश्वासका साथ काम गर्न सधै प्रेरणा दिने गरेको स्मरण गराउनुभयो ।
२०३६ साल चैत १९ गते काभ्रेमा जन्मिनुभएका पत्रकार दोङ सिटीजन रेडियो, सगरमाथा रेडियो, ईमेज रेडियो, न्यूज २४ टेलिभिजन, नेपाल समाचारपत्र दैनिकसंगै साथै पछिल्लो समय मध्यान्ह दैनिक र जनता समाचार डटकमको ग्रुप एडिटर एवं रेडियो जनताका स्टेशन म्यानेजरका रुपमा कार्यरत हुनुहुन्थ्यो । इन्जाका महासचिव रहनुभएका दोङ, नेपाल तामाङ कलाकार संघका संस्थापक सचिव रहनुभएको थियो ।