काठमाडाैं । राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवा अझ बढी प्रभावकारी बनाउने गरी काम अघि बढाइएको बताउनुभएको छ ।
बुधबार बुटवलमा राससका सेवाग्राही र सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष झाले राससले सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने बताउनुभयो । “राससको यो गतिलाई कायम राख्दै सेवा प्रवाह चौबीस घण्टा नै बनाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।
उहाँले पत्रकारितामा अब ‘डेडलाइन’ युगको अन्त्य भएको भन्दै सूचनाको परिधि फराकिलो भएको बताउनुभयो । राससको सेवा अनाधिकृत रुपमा प्रयोग गर्नेको सङ्ख्या देशभरि नै ठूलो भए पनि आधिकारिक रुपमा रासस प्रयोग गर्ने सङ्ख्या अत्यन्त न्यून रहेको उहाँको भनाइ छ । उहाँले न्यूनतम शुल्कमा सेवा उपलब्ध गराएको भन्दै ग्राहक बन्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा राससका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईले राज्यमा भएको परिवर्तनलाई अब राससले अत्मसात् गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले रासस सात सय ५३ वटा स्थानीय सरकार, सात प्रदेश र एक सङ्घीय सरकार सबैको अपनत्व हुने गरी ढाँचासमेत परिवर्तन गर्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा राससका बोर्ड सदस्य कृष्ण अधिकारीले रासस समयसापेक्ष चलायमान भइरहेको बताउँदै सेवा विस्तारमा पछिल्लो समय निकै परिवर्तन गरेको बताउनुभयो । उहाँले पछिल्लो समय राससले अडियो भिडियोसहित आलेख र विचार सेवा सुरु गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले साना मिडियालाई विशेष योजनासहित राससले प्याकेज बनाएर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले राससले सञ्चालन गरेको विचार स्तम्भमा सबैको विचार समेट्न सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले राससले घटनाप्रधानभन्दा पनि अनसन्धानमूलक समाचारमा जोड दिनुपर्ने बताउनुभयो ।
राससका बजार प्रमुख राजाराम कार्कीले राससको समाचारको गुणस्तरीयता सम्बन्धमा छलफल गर्ने गरी अभियान लिएर आएको बताउनुभयो । उहाँले साना मिडिया बलियो भए मात्रै रासस बलियो हुने बताउनुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसालले सरकारी मुखपत्रका रुपमा रहेको रासस जनताको आवाज बन्दै गइरहेको अनुभूति भएको भन्दै यसलाई निरन्तर कायम राख्न सुझाव दिनुभयो । कार्यक्रममा पत्रकार डिवी सुस्लिङ, दिनेश कुमार श्रेष्ठ, प्रदीप आचार्यलगायतले राससलाई समयसापेक्ष बनाउन र सेवाग्राहीले समाचार छिटो पाउने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा रासस लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले रासस अध्यक्षसहितको टोली सेवाग्राहीका सुझाव र रासस सेवाका बारेमा जानकारी गराउने उद्देश्यसहित अभियानमा रहेको जानकारी गराउनुभएको थियो ।