काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संक्रमणकालिन न्याय सम्बन्धी विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउने विषयमा असहमति जनाएको छ ।
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धि विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल एमालले असहमति जनाएको छ ।
शनिवार साँझ सभामुखको कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्ष दल एमालले फास्ट ट्रयाकबाट जान असहमति जनाएको बताउनुभयाे ।
प्रधानमन्त्रीको भनाइ छ– ‘सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्रयाक्कबाट गरौँ भन्ने छ । प्रतिपक्षको कुरा चाहिँ समितिमा लगेर गरौँ भन्ने छ । त्यसको बीचको बाटो खोज्ने भन्ने पनि छ ।’
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताउनुभयाे । नेता ओलीले विधेयक समितिमा पठाउने विषयमा कुरा भएको जानकारी दिनुभयाे ।
आजको बैठकले सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई पारित गर्न समिति बनाउने कुरामा २८ गते मङ्गलवार बैठक बसेर निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।
बैठकपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बैठक सकरात्मक भएको प्रतिक्रिया दिनुभयाे ।
सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुबीच संवादको बाटो खुलेको बताउनुभयाे । सभामुख घिमिरेको भनाइ छ– ‘सहमति र विमतिभन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराहरु अलि नभएको अवस्था थियो । त्यसैले गर्दा उहाँहरुको बीचमा कुराकानी गराउनको लागि पहल गरियो । र कुराकानीको सुरुवात भएको छ ।’
त्यस्तै उहाँले नेताहरुबीच थप छलफल गरेर अघि बढ्ने सहमति भएको समेत जानकारी दिनुभयाे ।
शनिवार अपरान्ह सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सहभागिता थियाे ।